Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | रासस

 

दमौली (तनहुँ), ११ भदौः रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

 

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका नौ वटा शव भेटिएका छन् । बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उहॉले जानकारी दिनुभयो । 

 

आँबुखैरेनी–४ पुलजीपदेखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका विभिन्न स्थानमा शव फेला परेको तिवारीले बताउनुभयो । 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार नदीमा फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेका छन् । फेला परेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि भरतपुर पठाइने उहॉले बताउनुभयो । आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको उहाँले बताउनुभयो ।

 

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार जिल्लामा उपलब्ध सबै स्रोतसाधनसहित सम्बन्धित सबै टोलीलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ । सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सुरक्षा निकाय तथा सम्बन्धित टोलीलाई तयारी अवस्थामा राखिएको र आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने उहाँले बताउनुभयो । 

 

यसैबीच, भानुबाट टिमुरेतर्फ गएको चालकसहित तीन जना सम्पर्कविहीन रहेको सूचना प्राप्त भएको प्रजिअ तिवारीले बताउनुभयो । उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan