एउटै घरमा २४ वटा शव फेला, मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको
नुवाकोट, १६ भदौ : भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहेको थियो । प्रहरीले ड्रोनको क्यामेरामा १ वटा शव देख्यो ।
ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्योा । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका-१० बेत्रावती स्थित बच्चुराम अवस्थीको घर भएको खुल्न आयो ।
घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शव सम्म पुग्न निकै नै कठिन देखियो । नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्री एकजुट गर्योक । दलदले हिलो माथि उक्त सामाग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घर सम्म पुग्न सफल भयो ।
उक्त घरमा प्रवेश गरे पछि फेला परेको शव नजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला पर्योप । फेला परेका शव मध्ये १ बालिका, ११ वटा पुरूष र १२ वटा महिलाको शव रहेको छ ।
शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको छ । दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनको लागि हेलिकप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाई भइरहेको छ ।
उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह, एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ ।
