भोटेकोशी बाढीमा घाइते र प्रभावितको सारथी बन्दै सशस्त्र प्रहरी : १,१५५ जनाको स्वास्थ्य उपचार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धारसँगै स्वास्थ्य उपचारमा पनि सशस्त्र प्रहरी बल नेपालले सक्रियता बढाएको छ। बाढी प्रभावित विभिन्न क्षेत्रमा हेल्थ क्याम्प सञ्चालन गरी सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले १ हजार १ सय ५५ जनाको स्वास्थ्य उपचार गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पताल बलम्बुबाट विशेषज्ञ चिकित्सकसहित खटिएको स्वास्थ्यकर्मी टोलीले भाद्र १० गतेदेखि रसुवाको टिमुरे, नुवाकोटका विभिन्न स्थान, धादिङको गल्छी तथा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ क्याम्प सञ्चालन गर्दै आएको हो।
उपचार गरिएका मध्ये नुवाकोटमा १ हजार ४ जना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ७ जना, धादिङमा २५ जना र रसुवामा १९ जना रहेका छन्।
बाढीबाट घाइते भएकाहरूको उपचारका लागि नुवाकोटको क्रियापुत्री भवनमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुली, आयुर्वेद अस्पतालमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. गंगाराम खत्री, देवीघाटमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सानु गुरुङ तथा धादिङको गल्छीमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चन्दन यादव खटिएका छन्। स्वास्थ्य टोलीको समग्र कमाण्ड प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठले सम्हालिरहेका छन्।
त्यसैगरी रसुवाको टिमुरेमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सुरेन्द्र भट्टराई र डा. अनिल जोशी खटिएका छन्। काठमाडौंमा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रोसु थापा फिल्ड इमर्जेन्सी म्यानेजमेन्ट तथा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. आशिष थापा इमर्जेन्सी केस ह्यान्डलिङमा परिचालित छन्।
बाढी प्रभावितको उद्धार तथा उपचारलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले मास क्याजुअल्टी भेइकलसमेत परिचालन गरेको छ। काठमाडौं, रसुवा र नुवाकोटका विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य अवस्थाको जानकारी लिने कामसमेत स्वास्थ्यकर्मी टोलीले गरिरहेको छ।
घाइतेको उपचारका लागि नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ।
स्वास्थ्य उपचारसँगै सशस्त्र प्रहरी कर्मचारीहरू होल्डिङ सेन्टरको व्यवस्थापन, क्याम्प कोअर्डिनेसन, राहत सामग्री वितरण तथा बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समेत परिचालित छन्। सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित र व्यवस्थित रूपमा शव व्यवस्थापनको काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा ४ हजार २ सयभन्दा बढी सशस्त्र प्रहरी कर्मचारी परिचालन भएका छन्। उनीहरूले खोज तथा उद्धार, घाइतेको उपचार, आपत्कालीन औषधि सेवा, होल्डिङ सेन्टर व्यवस्थापन र राहत वितरणलगायतका कामलाई एकसाथ अघि बढाइरहेका छन्।
विपद्को अँध्यारोमा उद्धारको हातसँगै उपचारको मल्हम बोकेर सशस्त्र प्रहरी प्रभावित बस्तीमा पुगेको छ—जहाँ उद्धार सकिँदैन, त्यहाँबाट स्वास्थ्य सेवाको अर्को मोर्चा सुरु भएको छ।
