Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नदी किनारमा थुप्रिएका काठको निगरानी र जफत सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)

नारायणगढ (चितवन), १६ भदौः डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ । कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
 
कार्यालयका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार रसुवा बाढीका कारण पहाडी क्षेत्रका सल्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालका ढलेका तथा बगेका काठ–दाउरा नारायणी नदी किनारमा ठूलो मात्रामा थुप्रिएका छन् ।

नदी किनारबाट स्थानीयवासीले जथाभावी काठ उठाउन थालेपछि वन कार्यालयले निगरानी र नियन्त्रणको काम सुरु गरेको हो । नदी किनारमा शव भेटिएका बेला मानिसले शवको वेवास्ता गर्दै काठ सङ्कलनका लागि आफ्नो ज्यानै जोखिममा पारेर नदीमा पसेका थिए ।
 
प्रमुख आचार्यले भन्नुभयो, “नदीले बगाएर ल्याएको काठ उठाउन पाइँदैन । यसरी सङ्कलन गरिएका काठ गैरकानुनी हुन्छन् । यसअघि सबै जना शव व्यवस्थापनमा केन्द्रित भएकाले काठ नियन्त्रणमा कदम चाल्न सकेका थिएनौँ । अब शव भेटिन कम भएकाले आजैदेखि नदी किनारमा रहेका काठको निगरानी र नियन्त्रण गर्ने काम सुरु गरेका छौँ ।”
 
विशेषगरी नारायणीको देवघाट क्षेत्रदेखि पुलचोक, भरतपुर महानगरपालिका–३ आसपास तथा नारायणी, ज्ञानेश्वर र सेतीदेवी सामुदायिक वन क्षेत्रको नदी किनारमा ठूलो मात्रामा काठ थुप्रिएको उहाँले बताउनुभयो ।
 
नदीको तीव्र बहाव र जोखिमयुक्त स्थानमा प्रवेश गरी काठ निकाल्ने, तान्ने, काट्ने, ओसारपसार गर्ने, बिक्री–वितरण गर्ने वा आफ्नो स्वामित्वमा लिने कार्य नगर्न सबैलाई सूचीत गरिएको आचार्यले बताउनुभयो । 

अवैध रूपमा संकलन गरिएका काठ वन कार्यालयले जफत गर्ने उहाँको भनाइ छ । अधिकृत आचार्यलले कसैले आफूखुसी काठ सङ्कलन, चोरी, निकासी वा बिक्री–वितरण गरेको पाइएमा वन ऐन, २०७६, वन नियमावली, २०७९ तथा अन्य प्रचलित कानुन बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिनुभयो ।
 
बाढीले बगाएर ल्याएका काठ–दाउराको पहिचान, लगत सङ्कलन, नापजाँच र व्यवस्थापन वन कार्यालयबाटै गरिने भएकाले कतै काठ–दाउरा देखिएमा नजिकको वन कार्यालय, वन कर्मचारी वा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई जानकारी गराइ सहयोग गर्न डिभिजन वन कार्यालय चितवनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan