भोटेकोशी विपद् : सेनाको हवाई र टनेल उद्धार तीव्र, ११८ जनाको उद्धार
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाका अनुसार २०८३ भदौ १६ गते साँझ ५ बजेसम्म एक विदेशी नागरिकसहित ११८ जनाको हवाई उद्धार गरिएको छ।
बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका टनेलमा फसेका तथा बेपत्ता व्यक्तिको खोजीका लागि पनि संयुक्त टोली परिचालन गरिएको छ। चिलिमे हाइड्रोपावरको टनेलमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली प्रवेश गरी करिब १५० मिटर भित्रसम्म पुगेको थियो। त्यसपछि भिरालो भाग सुरु भएको स्थानमा टनेल पूर्णरूपमा पुरिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ।
त्यस्तै, अपर त्रिशूली–१ को हाँकूस्थित टनेलमा विदेशीसहितको संयुक्त टोली करिब १६० मिटर भित्रसम्म पुगे पनि टनेल टालिएको अवस्थामा फेला परेको छ।
त्रिशूली–३ ए आयोजनामा टनेल हेड पहिचान गरी तीनवटा एक्स्काभेटरबाट माटो पन्छाउने काम भइरहेको छ। कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी इनलेट टनेलमा पारिएको होलबाट अत्यधिक पानी आएको र त्यहाँबाट प्रवेश गर्न असम्भव देखिएपछि अहिले टनेलको आउटलेटतर्फबाट पुनः होल पार्ने काम जारी रहेको छ।
यता, त्रिशूली–३ बी आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी एक्स्काभेटरमार्फत पहुँचमार्ग निर्माण भइरहेको सेनाले जनाएको छ।
बाढीका कारण नदी पार गर्न कठिन भएका प्रभावित नागरिकको आवागमन सहज बनाउन पनि सेनाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। त्रिशूली नदीका विभिन्न पाँच प्रभावित स्थानमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९, इन्द्रायणीघाटमा करिब २५० मिटर लामो तुइन जडान गरिएको छ। यसबाट प्रभावित क्षेत्रका नागरिकलाई बजार तथा अस्पतालसम्म पुग्न सहज भएको छ।
विपद्को कठिन परिस्थितिमा उद्धारसँगै पहुँचमार्ग, तुइन तथा टनेल खोजीलाई समानान्तर रूपमा अघि बढाउँदै नेपाली सेनाले प्रभावित नागरिकसम्म सेवा र पहुँच विस्तार गरिरहेको जनाएको छ।
