आश्मा केसी र नीति शाहद्वारा ५१ टेन्टसहित १५ लाखसम्मको राहत सहयोग
काठमाडौं । पूर्व मिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढी पीडितलाई आर्थिक सहयोग र राहत सामग्री उपलब्ध गराएका छन्।
उनीहरूले करिब १० लाख रुपैयाँ संकलन गरी ५१ वटा टेन्ट सहयोग गरेका छन्।
साथै २०० कार्टुन चाउचाउ र अन्य अतिआवश्यक सामग्रीसमेत वितरण गरिएको छ।
उनीहरूले टेन्ट, खाद्यान्न तथा अन्य राहत सामग्रीसहित कुल १२ देखि १५ लाख रुपैयाँ बराबरको सहयोग गरेका छन्।
एउटा टेन्टमा करिब १० देखि १५ जनासम्म बस्न सक्ने भएकाले ५१ वटा टेन्टबाट करिब ५०० देखि ६०० जनालाई अस्थायी आश्रय उपलब्ध गराउन सकिनेछ।
विपद्का कारण घरबाहिर बस्न बाध्य भएका तथा तत्काल आश्रयको आवश्यकता रहेका परिवारलाई लक्षित गरी गरिएको उक्त सहयोगले प्रभावितहरूलाई तत्काल राहत उपलब्ध गराएको उनीहरूले बताएका छन्।
