अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौं, १६ भदौ :रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७ सय ८० मिलिग्राम सहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय मोति बहादुर रोकायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ पुर्बेली दमार बस्ने २१ वर्षीय रंजन भोम्जनलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४५ ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
साथै उनले प्रयोग गर्ने बा.३१ प ७१९२ नम्बर र बा.८४ प ६०७० नम्बरको मोटरसाइकलहरू समेत प्रहरीले बरामद गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बडारा बस्ने बर्दगोरिया गाउँपालिका-६ घर भएका २४ वर्षीय निराजन डगौरा, धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने डोटी जोरायल गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरज नेपाली र धनगढी उपमहानगरपालिका-३ बस्ने भारत पलिया घर भएका १९ वर्षीय दिनेश गुप्ता रहेका छन् ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
