परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाकी विदेशमन्त्री आनन्द बीच टेलिफोन वार्ता
काठमाडौँ, १६ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाकी विदेशमन्त्री अनिता आनन्दबीच नेपालमा हालै गएको बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिबारे टेलिफोन वार्ता भएको छ ।
मङ्गलबार भएको वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा खोज, उद्धार र राहतका प्रयासबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा क्यानडाकी विदेशमन्त्री आनन्दले विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकको यस घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा क्यानडा सरकारले नेपाललाई उपलब्ध गराएको ५० लाख क्यानेडियन डलर सहयोग तथा संयुक्त कोषमार्फत थप १० करोड क्यानेडियन डलर सहयोग गर्ने प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
मन्त्री खनालले विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी पनि क्यानडाकी समकक्षीलाई गराउनुभएको छ । नेपालमा हालै आएको बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि सरकारले खोज, उद्धार, राहत तथा प्रभावित नागरिकको संरक्षणलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ ।
