Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समाजको कथाः ‘पेन्सन पट्टा’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |

गण्डकी, ३ भदौः यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजको जीवन्त कथामा आधारित रहेकाले दर्शकको मन जित्ने विश्वास निर्माण पक्ष र कलाकारले गरेका छन् ।

    चलचित्रबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले चलचित्र हेर्दा दर्शकले आफ्नै समाज र परिवेशको झझल्को पाउने बताउनुभयो । “चलचित्रले प्रेम, भावना, सम्बन्ध र समाजको संरचनालाई सरल ढङ्गले प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो ।

    तीस–चालीस वर्षअघिको नेपाली समाजमा पेन्सन पट्टाको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भूतपूर्व गोर्खाली सैनिकले समाज र देशका लागि दिएको योगदान सम्झनलायक रहेको बताउनुभयो । ‘पेन्सन पट्टा’ले केवल एउटा परिवारको कथा मात्र नभनी समाजभित्रका व्यथा र मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने अभिनेता राईको भनाइ छ ।

    “चलचित्रमा निभाएको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु । पेन्सन पट्टा निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो । हरेक वर्गका मानिसले बुझ्न सक्छन्”, उहाँले भन्नुभयो ।

    चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाले पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई कथाको आधार बनाइएको बताउनुभयो । 

    गोर्खालीको निधनपछि उसको परिवारले पेन्सनबापत पाउने सुविधालाई सहज रूपमा ग्रहण गर्न नसक्दा उत्पन्न हुने समस्या, उतारचढाव र सामाजिक परिवेशलाई चलचित्रमा प्रस्तुत गरिएको उहाँको भनाइ छ ।

    निर्देशक गुरुङले आफूहरूले आफ्नै परिवेशको कथा इमानदारीपूर्वक प्रस्तुत गरेको बताउनुभयो । चलचित्रकी अभिनेत्री सोल गुरुङले कथा मन परेकै कारण आफू चलचित्रमा जोडिएको बताउनुभयो । अभिनेत्री मनिका गुरुङले ‘पेन्सन पट्टा’को विषयवस्तुले आफूलाई आकर्षित गरेको बताउनुभयो ।

    कास्कीको ताङतिङ र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यस चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, दिवङ्गत सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan