परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली राष्ट्रसङ्घको महासभामा सहभागी हुने
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |
काठमाडौँ, ३ भदौः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।’
नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । त्यसयता नेपालले महासभामा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ ।
