Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऐरद्वारा लिखित ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस)

काठमाडौँ, ६ भदौः नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरद्वारा लिखित ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ : भुपरिवेष्ठितबाट भूजडित उडान’ पुस्तक विमोचन गरिएको छ । सुदूरपश्चिम सरोकार मञ्च नेपालको २०औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुस्तक विमोचन गर्नुभएको हो ।
    
    सुदूरपश्चिममा जन्मनुभएका ऐर विगत २६ वर्षदेखि नेपाल पर्यटन बोर्डमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै हाल निमित्त कार्यकारी प्रमुखको भूमिकामा हुनुहुन्छ ।  पर्यटन क्षेत्रको विकास, पूर्वाधार, क्षेत्रीय तथा अन्तरराष्ट्रिय कनेक्टिभिटी र नेटवर्किङलाई केन्द्रमा राखेर तयार पारिएको १८२ पृष्ठको पुस्तकमा नेपालको पर्यटन विकासका विभिन्न सम्भावना, चुनौती र नीतिगत पक्षलाई समेटिएको छ ।
    
    पुस्तकमा पर्यटनलाई आर्थिक तथा सामाजिक विकासको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै पर्यटकीय गन्तव्यको विकासदेखि क्षेत्रीय पर्यटन बजारसम्मका विषयमा लेखकले आफ्ना दृष्टिकोण र अनुभव प्रस्तुत गर्नुभएको छ ।

    पुस्तक सात वटा खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा ‘उत्तर–दक्षिण कोरिडोरले देखाएको त्रिदेशीय विकासको सम्भावना’, दोस्रोमा ‘पर्यटकीय गन्तव्यहरूमा विकासका आयाम’, तेस्रोमा ‘पर्यटन क्षेत्रमा नीतिगत व्यवस्था’, र चौथोमा ‘पर्यटकीय उपजमा नौलो प्रयास’ समेटिएको छ । त्यस्तै, पाँचौँ खण्डमा ‘आर्थिक–सामाजिक विकासको इञ्जिन पर्यटन’, छैटौँमा ‘क्षेत्रीय पर्यटन बजारमा विकासको सन्दर्भ’ र सातौँ खण्डमा ‘पर्यटनमा आवश्यक कनेक्टिभिटी र नेटवर्किङ’ विषय समेटिएको छ ।

    पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्दले नेपालको पर्यटन विकासका लागि सडक, हवाई तथा अन्य यातायात पूर्वाधारसँगै क्षेत्रीय र अन्तरराष्ट्रिय सम्पर्क विस्तार आवश्यक रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री चन्दले पुस्तकले नेपालको पर्यटन विकासका लागि कनेक्टिभिटी र नेटवर्किङको महत्त्वलाई स्पष्ट रूपमा उजागर गरेको बताउनुभयो । नेपालको भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक विविधताले सिर्जना गरेका पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्न पुस्तकले महत्त्वपूर्ण दृष्टिकोण प्रस्तुत गरेको उहाँको भनाइ थियो ।

    पर्यटन बोर्डका निमित्त प्रमुखसमेत रहनुभएका लेखक ऐरले नेपालको पर्यटन विकासलाई गन्तव्यको प्रचारप्रसारमा मात्र सीमित नराखी कनेक्टिभिटी, नेटवर्किङ, नीति, पूर्वाधार, पर्यटन उत्पादन र बजार विस्तारलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । ऐरले पुस्तकमार्फत नेपालको पर्यटन विकासका सम्भावनालाई क्षेत्रीय तथा अन्तरराष्ट्रिय सञ्जालसँग जोडेर हेर्न खोजिएको बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट, पूर्वऊर्जा सचिव अनुप उपाध्याय, पूर्वस्वास्थ्य सचिवसमेत रहेका मञ्चका अध्यक्ष दीर्घसिंह बम, पूर्वप्रहरी प्रमुख मोतीलाल बोहरालगायतको उपस्थिति रहेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan