नेतृत्वमा सेवाभाव, इमान्दारी र उत्तरदायित्व आवश्यकः सभामुख यादव
जनकपुर, ७ भदौः मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले समाज र समुदायको विकासका लागि नेतृत्वमा सेवाभाव, इमान्दारी र उत्तरदायित्व आवश्यक रहेको बताउनुभएको छ ।
जनकपुरधाममा आज आयोजित कार्यक्रममा सुरेशकुमार यादवद्वारा लिखित ‘स्टार वडाध्यक्षः समर्पण, सेवा र नेतृत्वका ५१ सूत्र’ पुस्तक विमोचन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सभामुख यादवले जनप्रतिनिधिले जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पद र जिम्मेवारी स्थायी नहुने बताउँदै व्यक्तिको वास्तविक पहिचान उसको कर्म र योगदानबाट बन्ने उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधि तथा नेतृत्वमा रहेका व्यक्तिलाई आफ्नो काममार्फत समाजमा सकारात्मक प्रभाव पार्न आग्रह गर्नुभयो ।
पुस्तकमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका ५१ वटा वडाका वडाध्यक्षको कार्यसम्पादन, सङ्घर्ष र व्यक्तिगत जीवनका विभिन्न पक्ष समेटिएका छन् । पुस्तक विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता थियो ।
