Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसुवामा बाढी : उद्धारमा सशस्त्र प्रहरीको व्यापक परिचालन, राहत सामग्रीसहित विशेष टोली प्रभावित क्षेत्रमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौं, १० भदौ । रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बल नेपालले रसुवा, नुवाकोट, धादिङ र चितवनमा रहेका आफ्ना युनिटबाट उद्धार सामग्रीसहितका जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका कन्टेनरहरू समेत पुर्‍याउने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। अन्य क्षेत्रमा तयारी अवस्थामा रहेका आपत्कालीन राहत तथा उद्धार सामग्री पनि प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ।

बाढीमा परी घाइते भएकाहरूको तत्काल उपचारका लागि मेडिकल तथा उद्धार टोली परिचालन गरिएको छ। प्राथमिक उपचारको व्यवस्था मिलाउन चिकित्सकीय जनशक्तिसहितको टोली प्रभावित क्षेत्रमा खटाइएको छ। साथै, उपचार आवश्यक पर्ने घाइतेका लागि नेपाल एपीएफ अस्पतालमा बेडसमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न सशस्त्र प्रहरीले गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाउने र माइकिङ गर्ने कार्य गरिरहेको छ। जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ।

आपत्कालीन उद्धारका लागि परिचालित नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरको सुरक्षित उडान र अवतरणका लागि विभिन्न स्थानमा ल्यान्डिङ जोनसमेत तयार गरिएको छ। रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढी र पहिरोका कारण पुरिएका व्यक्तिहरूको खोजीका लागि विशेष खोज तथा उद्धार टोली परिचालन गरिएको छ।

त्यस्तै, नदी किनारा तथा बाढी प्रभावित क्षेत्रमा हराइरहेका नागरिकको लोकेशन पत्ता लगाउन र क्षतिको प्रारम्भिक मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ।

बाढीका कारण विस्थापित नागरिक बसेका शिविरमा पानीजन्य रोग तथा हैजा फैलिन नदिन आपत्कालीन खानेपानी शुद्धीकरण तथा औषधि वितरणसमेत सुरु गरिएको छ। प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था मिलाउन विशेष ध्यान दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो वा अन्य प्राकृतिक अवरोध एक्कासि खुल्न सक्ने सम्भावना तथा थप बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त गर्न सशस्त्र प्रहरीले चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर समन्वय, संवाद तथा सूचना आदान–प्रदान गरिरहेको छ।

बाढीको जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रका नागरिकलाई नदी तथा खोला किनारबाट टाढा सुरक्षित स्थानमा रहन र सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ।

उद्धार, राहत, स्वास्थ्य उपचार, जोखिम मूल्यांकन तथा थप विपद्को पूर्वतयारीलाई एकीकृत रूपमा अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan