भोटेकोशी बाढी : टनेलभित्र व्यापक खोजी, तीन शव फेला; ३ हजार ५९६ जनाको उद्धार
काठमाडौं, १५ भदौ । भोटेकोशी बाढीपछि प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार भाद्र १० गतेदेखि हालसम्म स्थलमार्गबाट २०० जना र हवाई साधनमार्फत विदेशी नागरिक ३३८ जनासहित कुल ३ हजार ५९६ जनाको उद्धार गरिएको छ।
बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका टनेलहरूमा समेत विशेष टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ। त्रिशूली–३ ए को टनेलमा राति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको छ।
त्यसपछि दुई वटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर होल बनाउने तथा टनेलभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको छ।
त्यस्तै, त्रिशूली–३ बी मा विज्ञसहितको सैन्य टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी छ।
विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोपावरको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा थप भित्री भाग हिलोमाटोले पुरिएको अवस्थामा फेला पारेको छ। सो क्रममा दुई वटा शव संकलन गरिएको सेनाले जनाएको छ।
यसैगरी, अपर त्रिशूली–१ को टनेलमा उद्धार टोली करिब ३०० मिटर भित्रसम्म प्रवेश गरी खोजी गर्दा एक शव फेला पारी संकलन गरेको छ। लाङटाङ टनेलमा समेत सर्च लाइट प्रयोग गरी टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
प्रभावित क्षेत्रमा पैदल गस्ती र राहत
नेपाली सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडाकाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्तीसमेत सञ्चालन गरिरहेको छ। स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिलाउँदै उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने तथा प्रत्यक्ष रूपमा जनताको अवस्था बुझ्ने काम भइरहेको सेनाले जनाएको छ।
स्याफ्रुबेसी क्षेत्रमा राहत तथा राशन वितरण गरिएको छ भने लाङटाङ हाइड्रो क्षेत्रतर्फ रेकी तथा पेट्रोलिङ सञ्चालन गरिएको छ।
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म २ हजार ६३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ।
८ हजार ९ सयभन्दा बढी सैनिक परिचालन
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व तथा नवलपरासी पश्चिमका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
सेनाले सम्बन्धित निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेको जनाएको छ।
यसैगरी, प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कार्यलाई पनि निरन्तरता दिइएको छ। हालसम्म करिब २३ हजार १९४ किलोग्राम राहत सामग्री धुन्चेलगायत प्रभावित क्षेत्रमा हवाई माध्यमबाट ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ।
बाढीबाट टनेल, जलविद्युत् आयोजना, सडक तथा नदी आसपासका बस्तीमा ठूलो क्षति पुगेपछि हराइरहेका व्यक्तिको खोजीका लागि सुरुङ तथा कठिन भौगोलिक क्षेत्रमा विशेष उपकरण र प्राविधिक जनशक्तिसहित खोजी अभियान सञ्चालन भइरहेको छ।
