Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग गरे छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |
newsabhiyan

काठमाडौँ, १५ भदौः  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियान, बेपत्ता नागरिकको खोजी, राहत वितरण, घाइतेको उद्धार तथा उपचार र थप जोखिम न्यूनीकरणका विषयमा जानकारी लिइएको थियो।

छलफलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन्।

भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक संरचना तथा निजी आवासमा समेत व्यापक क्षति पुर्‍याएको छ।

विशेषगरी रसुवागढी, टिमुरे तथा जलविद्युत् आयोजनाका क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजी अझै चुनौतीपूर्ण बनेको छ। कतिपय स्थानमा सडक तथा पुल बगाएका कारण स्थलमार्ग अवरुद्ध भएकाले हेलिकप्टरमार्फत उद्धार तथा राहत पुर्‍याउने कार्यलाई समेत तीव्रता दिइएको छ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्नेमा जोड दिएका छन्।

बैठकमा बाढीबाट थप क्षति हुन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, बेपत्ताको खोजीलाई थप प्रभावकारी बनाउने तथा प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, औषधि र अन्य राहत सामग्री तत्काल पुर्‍याउने विषयमा समेत छलफल भएको बताइएको छ।

भोटेकोशी बाढीपछि सरकारले सुरक्षा निकायलाई ठूलो संख्यामा परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू स्थल तथा हवाई माध्यमबाट खोज तथा उद्धारमा सक्रिय छन्। जलविद्युत् आयोजनाका टनेलभित्र समेत विशेष टोली परिचालन गरी बेपत्ता व्यक्तिको खोजी भइरहेको छ।

प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीचको पछिल्लो छलफललाई बाढीपछिको खोज तथा उद्धार अभियानलाई थप तीव्र र समन्वयात्मक बनाउने प्रयासका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan