सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
कैलाली, १६ भदौः पछिल्लो समय सामाजिक सञ्जाल सूचना, प्रचारप्रसार र नयाँ पर्यटकीय गन्तव्य चिनाउने प्रभावकारी माध्यम बनेको छ । कुनै ठाउँको आकर्षक दृश्यसहितको फोटो वा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुनासाथ केही घण्टामै हजारौँ मानिससम्म पुग्ने गर्छ ।
यसले ओझेलमा रहेका प्राकृतिक तथा पर्यटकीय गन्तव्यलाई देश–विदेशसम्म चिनाउन, पर्यटक आकर्षित गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
प्राकृतिक सौन्दर्यले भरिएका झरना, ताल, पहाड, नदी तथा वन क्षेत्रका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ती स्थानमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने गरेको छ । तर, सामाजिक सञ्जालमा देखिने आकर्षक दृश्यले गन्तव्यको सुन्दरता मात्रै देखाउँछ, त्यहाँ पुग्ने बाटो, भौगोलिक अवस्था, मौसम, पानीको बहाव, चट्टानको अवस्था तथा सम्भावित दुर्घटनाको जोखिमबारे पूर्ण जानकारी भने दिँदैन ।
कैलालीको चुरे गाउँपालिका–५ सुरुगडास्थित चिप्ले झरना यसको पछिल्लो उदाहरण हो । केही समय यता सामाजिक सञ्जालमा भाइरल बनेको चिप्ले झरनाको चट्टानमाथिबाट झरिरहेको पानी, वरिपरिको हरियाली र चुरेको प्राकृतिक सौन्दर्यले धेरैको ध्यान तानेको छ । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो सार्वजनिक भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या पनि बढेको छ ।
प्रकृतिसँग रमाउन, झरनामा नुहाउन तथा फोटो र भिडियो खिच्न आउनेका लागि चिप्ले झरना आकर्षणको केन्द्र बनेको छ । तर, सामाजिक सञ्जालमा भाइरल बनेको यही सुन्दर गन्तव्यको अर्को पाटो भने जोखिमपूर्ण छ ।
चिप्लो चट्टान, गहिरो पानी, भिरालो भू–बनोट तथा कतिपय स्थानमा सुरक्षित आवागमनको व्यवस्था नहुँदा झरना क्षेत्रमा पुग्ने पर्यटक दुर्घटनाको जोखिममा छन् । पछिल्लोपटक झरना घुम्न पुगेका डडेल्धुराका खगराज पन्तको मृत्युले चिप्ले झरनाको पर्यटकीय सम्भावनासँगै पर्यटक सुरक्षाको विषयलाई पनि गम्भीर बनाएको छ ।
सुन्दरता हेर्न पुगेका खगराज फर्किएनन्
डडेल्धुराका २१ वर्षीय खगराज पन्त भदौ ६ गते चिप्ले झरना घुम्न पुगे । झरनाको सुन्दरता हेर्न र प्रकृतिसँग रमाउन पुगेका उनी चिप्लिएर खसेपछि बेपत्ता भए । बेपत्ता भएको भोलिपल्ट भदौ ७ गते उनको शव फेला पर्यो ।
झरानाको मनोरम दृश्यको फोटो खिच्न र प्रकृतिसँग रमाउन पुगेका एक युवाको मृत्यु भएपछि चिप्ले झरनामा सुरक्षाको विषय गम्भीर बनेको छ । सामाजिक सञ्जालका कारण पछिल्लो समय झरनामा बाहिरबाट आउने पर्यटकको सङ्ख्या बढिरहेका बेला भएको यो घटनाले गन्तव्यको प्रचारसँगै सुरक्षा व्यवस्थापनको आवश्यकता पनि देखाएको छ ।
पन्तको मृत्यु चिप्ले झरनाको जोखिमबारे सार्वजनिक रूपमा गम्भीर प्रश्न उठाउने पछिल्लो घटना बनेको छ । सामाजिक सञ्जालमा आकर्षक देखिने गन्तव्यमा पुग्दा पर्यटकले त्यहाँको भौगोलिक अवस्था र जोखिमबारे पर्याप्त जानकारी लिनुपर्ने देखिन्छ । उहाँको मृत्यु भएपछि प्रहरीले चिप्ले झरना क्षेत्रमा सर्वसाधारणको आवागमनमा कडाइ गरेको छ ।
झरना क्षेत्रमा थप दुर्घटना हुन नदिन स्थानीय तहसँग समन्वय गरी तत्कालका लागि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार झरना क्षेत्रमा चिप्लो चट्टान, भिरालो भू–बनोट तथा पानीको बहावका कारण दुर्घटनाको जोखिम उच्च रहेकाले सम्भावित मानवीय क्षति रोक्न तत्काल प्रवेशमा रोक लगाइएको हो ।
सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो भाइरल भएपछि पछिल्लो समय यहाँ घुम्न आउनेको सङ्ख्या बढ्दै गएको र कतिपय पर्यटक जोखिमको ख्याल नगरी चट्टान तथा पानीको नजिकसम्म पुग्ने गरेकाले सुरक्षाका दृष्टिले प्रवेशमा कडाइ गर्नुपरेको उहाँले बताउनुभयो ।
कार्कीका अनुसार स्थानीय तहसँगको समन्वयमा झरना क्षेत्रमा पर्यटकलाई जोखिमबारे जानकारी गराउने तथा सचेतना फैलाउने उद्देश्यले विभिन्न स्थानमा सूचना तथा चेतनामूलक बोर्ड राख्ने तयारी गरेको छ ।
तत्कालका लागि प्रवेशमा रोक लगाएर दुर्घटना नियन्त्रणको प्रयास गरिए पनि चिप्ले झरनाको बढ्दो पर्यटकीय आकर्षणलाई ध्यानमा राख्दै दीर्घकालीन सुरक्षा व्यवस्थापन आवश्यक देखिएको छ ।
झरना क्षेत्रलाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरक्षित पदमार्ग, रेलिङ तथा तारबार, सिँढी, जोखिमयुक्त स्थानमा चेतावनी बोर्डलगायत आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने देखिन्छ ।
सामाजिक सञ्जालमार्फत गन्तव्यको प्रचारसँगै पर्यटकको सङ्ख्या बढिरहेका बेला सुरक्षा पूर्वाधार र व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनसके चिप्ले झरनाको पर्यटकीय सम्भावनालाई सुरक्षित र दिगो रूपमा अघि बढाउन सकिने देखिन्छ ।
भाइरल दृश्यले देखाउँदैन जोखिम
सामाजिक सञ्जालमा सार्वजनिक हुने केही सेकेन्डको भिडियो वा तस्बिरले झरनाको पानी, हरियाली र प्राकृतिक सौन्दर्य देखाउँछ । तर, त्यहाँ पुग्ने बाटो, चट्टानको अवस्था, पानीको गहिराइ, बहाव र दुर्घटनाको सम्भावनाबारे त्यसले पूर्ण जानकारी दिँदैन ।
विशेषगरी, वर्षायाममा झरना तथा खोलामा पानीको बहाव बढ्ने भएकाले जोखिम अझ बढ्न सक्छ । पहिलोपटक झरना पुग्ने पर्यटकलाई कुन स्थान सुरक्षित हो, कहाँ चिप्लिने सम्भावना बढी छ, पानी कति गहिरो छ र कुन क्षेत्रमा जान हुँदैन भन्ने जानकारी नहुन सक्छ । राम्रो तस्बिर र भिडियो बनाउने क्रममा पर्यटकहरू जोखिमयुक्त स्थानसम्म पुग्ने गरेको देखिन्छ ।
चिप्ले झरनामा पनि सामाजिक सञ्जालमा देखिएको आकर्षक दृश्यका कारण पर्यटकको सङ्ख्या बढिरहेको छ । कतिपय पर्यटक फोटो तथा भिडियो बनाउने क्रममा चिप्लो चट्टानको किनारमा पुग्ने, पानीमा पस्ने वा जोखिमयुक्त स्थानमा उभिने गरेको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटी बताउनुहुन्छ । “चिप्ले झरना जति हेर्नलाई सुन्दर छ, त्यति नै जोखिम पनि छ ।
त्यहाँको सतह निकै चिप्लो छ भने चट्टान पनि छन् त्यसैले त्यहाँ जोखिम छ”, अध्यक्ष बोगटीले भन्नुभयो । उहाँका अनुसार झरना क्षेत्रमा पानी परेको समयमा चट्टानमा लेउ लाग्ने र सतह थप चिप्लो हुने भएकाले सामान्य अवस्थामा भन्दा वर्षायाममा जोखिम बढी हुन्छ । पर्यटकको सङ्ख्या बढ्दै गए पनि सुरक्षाका लागि आवश्यक संरचना निर्माण हुन नसक्दा व्यवस्थापन चुनौतीपूर्ण बनेको उहाँ बताउनुहुन्छ ।
चुरे गाउँपालिका–५ का पूर्वअध्यक्ष नरबहादुर तामाङ पनि सामाजिक सञ्जालमा देखिएको दृश्यका आधारमा मात्र कुनै गन्तव्यको वास्तविक अवस्था अनुमान गर्न नहुने बताउनुहुन्छ । सामाजिक सञ्जालले पर्यटकीय सम्भावना भएको ठाउँलाई चिनाउन महत्वपूर्ण भूमिका खेले पनि पर्यटकको सुरक्षाका लागि पूर्वसूचना, सचेतना र आवश्यक संरचना निर्माणमा पनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।
‘भूत खोला’देखि भाइरल पर्यटकीय गन्तव्यसम्म
चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीका अनुसार अहिले ‘चिप्ले झरना’ भनेर चिनिने यो स्थान पहिले ‘भूत खोला’ नामले परिचित थियो । धेरै पहिले त्यहाँ मानिसले ज्यान गुमाएका कारण स्थानीयले ‘भूत खोला’ भन्ने गरेको उहाँ बताउनुहुन्छ ।
स्थानीयस्तरमा लामो समयदेखि परिचित भए पनि सामाजिक सञ्जालमा भाइरल हुनुअघि यहाँ बाहिरी क्षेत्रका मानिसको आवागमन न्यून थियो । स्थानीयवासीले त्यहाँको पानी नहर तथा घट्ट सञ्चालनमा समेत प्रयोग गर्ने गरेका थिए ।
“पहिले यो ठाउँलाई ‘भूत खोला’ भनेर चिनिन्थ्यो । स्थानीयलाई पहिलेदेखि नै यो ठाउँबारे जानकारी थियो । त्यहाँको पानी नहर र घट्टका रूपमा प्रयोग गरिन्थ्यो”, अध्यक्ष बोगटीले भन्नुभयो । तर, सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि यसको चर्चा गाउँबाट बाहिरसम्म फैलिएको छ । अहिले कैलालीसँगै डडेल्धुरा, कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट समेत पर्यटक झरना हेर्न आउने गरेका छन् ।
चुरे गाउँपालिका–५ का अध्यक्ष वीरबहादुर धामीका अनुसार पछिल्लो केहि समय अघि देखि मात्रै सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि झरना क्षेत्रमा आउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । बिदाका दिन करिब चार–पाँच सयसम्म मानिस झरना क्षेत्रमा पुग्ने गरेको उहाँ बताउनुहुन्छ । यसलाइ व्यवस्थित गर्नसके पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँको भनाइ छ ।
खानीडाँडा बजारबाट करिब तीन किलोमिटरको दूरीमा रहेको चिप्ले झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना भए पनि त्यसका लागि आवश्यक पूर्वाधार भने पर्याप्त छैन । सुरक्षित पदमार्ग, रेलिङ, तारबार, सिँढी, विश्रामस्थल तथा जोखिमयुक्त स्थानमा सूचना बोर्डजस्ता संरचना आवश्यक देखिन्छन् ।
गाउँपालिकाका अध्यक्ष बोगटीका अनुसार गाउँपालिकाले झरना क्षेत्रको विकासका लागि डिपिआर तयार गरी प्रदेश सरकारलाई बुझाइसकेको छ ।
“पछिल्लो समय निकै भाइरल भएको चिप्ले झरनालाई व्यवस्थित गर्न डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाएका छौँ । पालिकाको बजेटले मात्रै भ्याउँदैन । तारबार गर्ने, आकाशे पुल बनाउने, सिँढी, नुहाउने स्थान बनाउनेलगायतका योजना छन्”, उहाँले भन्नुभयो ।
झरना क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै सुरक्षा संरचना निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । पानी परेको समयमा चट्टानमा लेउ लाग्ने र सतह चिप्लो हुने भएकाले पर्यटकलाई सुरक्षित रूपमा आवतजावत गर्न सक्ने संरचना आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
खगराज पन्तको सम्झनामा शालिक निर्माण गरी सो क्षेत्रलाई व्यवस्थित बनाउने योजना रहेको पनि अध्यक्ष बोगटीले बताउनुभयो । पर्यटकीय गन्तव्यको विकाससँगै सुरक्षा व्यवस्थापनलाई अघि बढाउने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो ।
