हमासद्वारा व्यवस्थापकीय चुनावप्रति प्रतिबद्धता, फताह प्रतिनिधिमण्डल कायरो प्रस्थान गर्दै
प्यालेस्टिनी राष्ट्रिय मुक्ति आन्दोलन (फताह) को एक प्रतिनिधिमण्डल शनिबार कायरो प्रस्थान गरेको छ ।
प्यालेस्टिनी इस्लामी प्रतिरोध आन्दोलन (हमास) ले नोभेम्बरमा हुने व्यवस्थापकीय चुनावमा सम्भव भएसम्म व्यापक राष्ट्रिय गठबन्धनअन्तर्गत सहभागी हुने प्रतिबद्धता जनाएपछि फताहको प्रतिनिधिमण्डल कायरो गएको हो ।
“प्रतिनिधिमण्डलले चुनावको तयारी र सफलता सुनिश्चित गर्न, प्यालेस्टिनी राष्ट्रिय एकता सुदृढ गर्न तथा अर्को चरणको मार्ग प्रशस्त गर्नका लागि प्यालेस्टिनी गुटका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछ,” अल–हायेकले भन्नुभयो ।
नाम नखुलाउन अनुरोध गर्ने एक फताह स्रोतले सिन्ह्वालाई बताएअनुसार आगामी व्यवस्थापकीय चुनाव र प्यालेस्टिनी मुद्दाले सामना गरिरहेका चुनौतीहरूबारे छलफल गर्न हमाससँग बैठकको तयारी भइरहेको छ।
फताहको क्रान्तिकारी परिषद्का सदस्य तथा आन्दोलनका प्रवक्ता मुन्थर अल–हायेकले संक्षिप्त वक्तव्यमा भन्नुभयो, “प्यालेस्टिनी उपराष्ट्रपति हुसेन अल–शेखको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग भेट गर्न कायरो प्रस्थान गरेको छ।”
यसैबीच, हमासका प्रवक्ता हाजेम कासेमले वक्तव्यमा भन्नुभएको छ, “हमास आगामी व्यवस्थापकीय चुनावमा सम्भव भएसम्म व्यापक राष्ट्रिय गठबन्धनभित्र सहभागी हुन प्रतिबद्ध छ।”
कासेमले भन्नुभयो, “यो कदमले चुनावलाई सबै प्यालेस्टिनी समूहहरूलाई स्वीकार्य सहमतीय राजनीतिक प्रणाली स्थापना गर्ने अवसर बनाउने र प्यालेस्टिनी जनता तथा उनीहरूको मुद्दाले सामना गरिरहेका चुनौतीहरूका बीच राष्ट्रिय मुद्दाहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न एकीकृत राष्ट्रिय नेतृत्वको बाटो खोल्ने हमासको चाहनालाई प्रतिबिम्बित गर्छ।
फताहको कायरो भ्रमण हमास, इस्लामिक जिहाद, प्यालेस्टाइन जनमुक्ति मोर्चा, प्यालेस्टाइन प्रजातान्त्रिक मुक्ति मोर्चा र प्रजातान्त्रिक सुधारवादी धारालगायतका समूहहरू समावेश भएको चुनावी गठबन्धन गठन गर्ने प्रयासका रिपोर्टहरूका बीच आएको हो।
कायरोले हालैका दिनहरूमा गुटहरूबीचका आन्तरिक प्यालेस्टिनी बैठकहरूका साथै गाजा पट्टीमा युद्धविराम सम्झौताबारे इजिप्टका अधिकारी र मध्यस्थकर्ताहरूसँग वार्ताहरू आयोजना गरेको छ।
प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले जुलाई ९ मा व्यवस्थापकीय चुनावको मिति नोभेम्बर २८ का लागि तोक्ने राष्ट्रपतीय आदेश जारी गर्नुभएको थियो भने राष्ट्रपतीय चुनाव अर्को वर्षको पहिलो त्रैमासिकसम्म गर्नेगरी तयारी भएको छ ।
प्यालेस्टिनी व्यवस्थापकीय चुनाव पछिल्लो पटक सन् २००६ मा भएको थियो । फताह र हमासबीचको राजनीतिक विभाजनका कारण त्यसपछिका चुनावहरू स्थगित गरिएका थिए ।
