नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न
काठमाडौँ, ६ भदौः काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।
विसं १९९० को भूकम्पले भत्किएको मन्दिर लामो समयपछि पञ्चायतकालमा ढलान गरेर बनाइएको थियो । विसं २०७२ को भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण सम्पन्न गरी आज शुभारम्भ गरिएको हो । नित्यनाथलाई बाजागाजाका देवताका रूपमा पूजिन्छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले महानगर क्षेत्रभित्रका मूर्त, अमूर्त सम्पदाको संरक्षणका लागि महानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
यसबीचमा ८२ वटा अमूर्त र ७८ वटा मूर्त सम्पदाको संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो । एघार वर्षअघिका भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माणको काम प्रायः अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कार्यवाहक नगरप्रमुख डङ्गोलले संरक्षणका काम गरिनुपर्नेमा जोड दिनुभयो ।
महानगरपालिका वडा नं ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले पुनर्निर्माण सम्पन्न गरिएको नित्यनाथ मन्दिरले संस्कार सिकाएर राख्न सहयोग गर्ने बताउनुभयो । मन्दिरका माध्यमबाट बाजागाजा नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने वातावरण बनेको पनि उहाँले सुनाउनुभयो ।
नेपाल धर्म, संस्कृति, चाडपर्व र जात्राका कारण चिनिएको उल्लेख गर्दै वडाध्यक्ष सङ्गतले पशुपति क्षेत्रका ग्वल नवाली टोलमा पुर्खाले जात्रा, पर्व, संस्कृति संरक्षणका लागि नित्यनाथ मन्दिर बनाएको बताउनुभयो । त्यसै टोलमा २०४२ सालमा स्थापना भएको पुस्तकलाय पनि भूकम्पले भत्किएकामा त्यसलाई पुनर्निर्माण गरी हस्तान्तरण गरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
महानगरपालिका वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगर क्षेत्रका मौलिक संस्कृति संरक्षणका लागि स्थानीय सरकारका तर्फबाट धेरै काम भएको बताउनुभयो । यस्ता कामलाई आगामी दिनमा निरन्तरता दिइने पनि उहाँको प्रतिबद्धता थियो ।
ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले यस वर्षको ज्यापू दिवसका अवसरमा आगामी योमरी पून्हिका दिन जयवागेश्वरीबाट नै शोभायात्रा गरी वसन्तपुर पुगेर विशेष सभा गर्नेगरी तयारी भएको जानकारी गराउनुभयो ।
सन्ध्या पुस्तकालयका अध्यक्ष एवं नवाली टोल बाजा खलका कार्यवाहक अध्यक्ष शिवकुमार सङ्गत र सचिव सुजन सङ्गतलगायतले सङ्गीत संस्कृति पुस्तान्तरणको काम गर्न सहयोगी हुनेगरी नित्यनाथ मन्दिर पुनर्निर्माण भएको बताउनुभयो । दाफा भजन, यस क्षेत्रमा लोप हुन लागेका बाजागाजाको संरक्षणका लागि पनि नित्यनाथ मन्दिरबाट सहयोग पुग्ने उहाँको भनाइ थियो ।
सो अवसरमा मन्दिर पुनर्निर्माणका लागि नक्सा ड्रइङ, डिजाइन गरी सहयोग गर्ने इन्जिनियर सुशान्त वैद्य, महानगरपालिका सम्पदा विभाग प्रमुख कुमारी राई र पुनर्निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न वडाध्यक्ष सङ्गतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मौलिक बाजागाजा र नृत्य सिक्ने विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
