भक्तपुरमा शारीरिक सुगठन प्रतियोगिता हुने
भक्तपुर, ८ भदौः भक्तपुरमा रु एक लाख राशि पुरस्कारको छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिटनेस–२०८३ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घले आज रफत सञ्चार क्लब, भक्तपुरमा आयोजना गरको पत्रकार सम्मेलनमार्फत उक्त कुरा जनाएको हो । सङ्घका अध्यक्ष ज्ञानेन्द्र मानन्धरले विभिन्न क्लबबाट प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुने बताउनुभयो ।
‘खेलकुद राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ आउँदो असोज २ र ३ गते आयोजना हुने प्रतियोगितामा महिलातर्फ महिला एथलेटिक्स फिजिक्समा खुला समूहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । कार्यक्रम संयोजक बाबुकाजी मानन्धरका अनुसार पुरुषतर्फ प्रत्येक तौल समूहका विजेताबीच ओभरअल प्रतिस्पर्धा गराइने र विजेताले छैटौँ मिस्टर भक्तपुर–२०८३ को उपाधिसहित नगद रु एक लाख, ट्रफी तथा बायोनेट प्रदान गरिने बताउनुभयो ।
दोस्रोदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । महिला एथलेटिक्स फिजिक्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा करिब रु १५ लाख खर्च हुने बताउँदै प्रतियोगिताले भक्तपुरका खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै युवामा खेलकुदप्रतिको रुची र उत्साह बढाउने मानन्धरले विश्वास व्यक्त गर्नुभएको छ । भक्तपुरमा आयोजना गरिने उक्त प्रतियोगितामा जिल्लाभित्रका करिब ६० जना खेलाडीको सहभागिता हुने छ ।
