असल नियतले काम गर्नुस्, संगठन सधैँ साथमा हुन्छ : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठन र राष्ट्रको हितलाई केन्द्रमा राखेर इमानदार नियतका साथ जिम्मेवारी निर्वाह गर्ने कर्मचारीको साथमा संगठन सधैँ उभिने बताएका छन्। तर व्यक्तिगत स्वार्थ वा खराब नियतका कारण हुने गल्तीको जिम्मेवारी संगठनले नलिने उनको स्पष्ट चेतावनी छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको ९औँ वार्षिकोत्सव तथा बाहिनी मातहतका कार्यालयहरूको निरीक्षण भ्रमणका क्रममा साउन ८ गते लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी इकाइका प्रमुखहरूलाई निर्देशन दिँदै महानिरीक्षक पौडेलले यस्तो बताएका हुन्।
‘हामी राज्यका सिपाही हौँ, त्यसैले कुनै पनि गल्ती गर्ने छुट छैन,’ पौडेलले भने, ‘राष्ट्र र संगठनको हितमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्राप्त निर्देशनलाई त्रुटिरहित ढंगले कार्यान्वयन गर्नुपर्छ।’
उनले संगठनभित्र अनुशासन, व्यावसायिकता र जवाफदेहितालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। असल नियतले जिम्मेवारी निर्वाह गर्ने कर्मचारीलाई संगठनले संरक्षण गर्ने भए पनि व्यक्तिगत कमजोरी, बदनियत वा अनुशासनविपरीतका गतिविधिलाई संस्थागत संरक्षण नदिइने उनको भनाइ थियो।
महानिरीक्षक पौडेलले विपद्का बेला उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै उद्धार, सुरक्षा र राहतमा प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिए। पछिल्लो समय देखिएका जातीय, क्षेत्रीय तथा धार्मिक प्रकृतिका घटनालाई संवेदनशीलतापूर्वक अध्ययन गरी सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित जोखिम नियन्त्रण गर्न पनि उनले निर्देशन दिए।
सशस्त्र प्रहरी बलको प्रमुख जिम्मेवारीमध्ये सीमा सुरक्षा महत्वपूर्ण रहेको उल्लेख गर्दै पौडेलले सीमाको सुरक्षा गर्नु राष्ट्रसेवाको गौरवपूर्ण अवसर भएको बताए। सीमा अपराध, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिँदै उनले राजस्व संकलनमा समेत प्रभावकारी योगदान पुर्याउनुपर्ने बताए।
‘हामी मालिक होइनौँ, राज्य र जनताका सेवक हौँ,’ उनले भने, ‘सीमावासीसँग सुमधुर सम्बन्ध स्थापित गर्दै सीमा सुरक्षा प्रभावकारी बनाउनुपर्छ।’
संगठन आर्थिक अनियमितताप्रति शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले कुनै पनि तहमा हुने आर्थिक अनुशासनहीनता स्वीकार्य नहुने स्पष्ट पारे।
यसैक्रममा महानिरीक्षक पौडेलले बाँके र बर्दियास्थित जिल्ला सुरक्षा समितिका अधिकारीहरूसँग सीमा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेका थिए।
उनले जमुनाह भन्सारका प्रमुख भन्सार अधिकृतसहित सीमामा क्रियाशील विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसँग सीमा सुरक्षा, अपराध नियन्त्रण तथा राजस्व चुहावट रोकथामका विषयमा अन्तरक्रियासमेत गरेका थिए।
पौडेलको निर्देशनको मूल सन्देश स्पष्ट छ—कर्तव्यमा इमानदारी र नियतमा शुद्धता भए संगठन साथमा हुन्छ; तर व्यक्तिगत स्वार्थ र बदनियतका गल्तीलाई संगठनको आडमा लुकाउने छुट कसैलाई छैन।
