विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद
काठमाडौँ, ८ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल र ल्यापटपका पार्टपूर्जा, सूर्तीजन्य पदार्थ (चुरोट) र पहेँलो धातु बरामद गरिएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट बिलबिजक नभएका मोबाइल तथा ल्यापटप, ल्यापटपका पार्टपुर्जासहित डिस्प्ले, कभरलगायत सामग्री तथा सूर्तीजन्य पदार्थ (चुरोट) बरामद गरिएको हो ।
अन्तरराष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिर निस्किने क्रममा शङ्का लागि सोधपुछ तथा जाँच गर्दा निजको साथबाट करिब रु ७२ लाख २५ हजार बराबरको ती सामग्री बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।
त्यस्तै कतारको दोहाबाट नेपाल एयरलाइन्समार्फत काठमाडौँ आएका यात्रु प्रयोग गरी सुन ओसारपसार भएको भन्ने सूचनाका आधारमा विमानस्थलको अन्तरराष्ट्रिय पार्किङ क्षेत्रबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५का ३५ वर्षीय कृष्ण यादव पक्राउ परेका सिलवालले बताउनुभयो ।
बाह्य मुलुकबाट आगमन भएका तीन जना यात्रुलाई प्रयोग गरी भन्सार छली ल्याएको सुनजस्तो देखिने पहेँलो धातुको सिक्री तीन थान, अन्दाजी ७५ ग्रामसहित उक्त सामग्री ल्याइदिने व्यक्तिलाई ज्यालाबापत दिनका लागि रु ३० हजारसहित निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
