Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

सुदूरपश्चिम, १० भदौः सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस दुःखद् समयमा नेपाल सरकारले गरिरहेको उद्धार तथा राहतका कार्यमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो ।

बैठकले खोज, उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग गर्न सबैमा अपिल गर्ने निर्णयसमेत गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले जानकारी दिनुभयो ।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ स्थित शान्ति सामुदायिक वनको चार दशमलव ८१ हेक्टर जग्गामा बसपार्क निर्माण गर्ने प्रस्ताव गरेकाले त्यसका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले अघि सारेका दुई वैकल्पिक सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण गर्ने निर्णयसमेत गरिएको छ । जसअनुसार कञ्चनपुरको कृष्णपुर, डडेल्धुरा, बैतडी र बझाङ जोड्ने दैजी–लिप्ना–जोगबुढा–ढुङ्गादेउरा सडक तथा कञ्चनपुर, डडेल्धुरा र डोटी जोड्ने बैलौरी भन्सार–कलुवापुर–नाइल–बुडर सडक रहेका छन् ।

यस्तै, सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशअन्तर्गतका सबै निकायमा स्तनपान कक्ष स्थापना तथा सञ्चालनमा ल्याउने निर्णयसमेत गरिएको छ । साथै, ती सबै निकायमा महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि छुट्टाछुट्टै शौचालय निर्माण गर्ने र स्यानिटरी प्याडको सहज तथा नियमित व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा धर्मराज जोशीलाई पदस्थापन गर्ने तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रावललाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan