Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |

काठमाडौँ, ७ भदौः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । 

 

सगरमाथा आरोही सङ्घको २५औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘रजत महोत्सव’ कार्यक्रममा ऐनलाई समयसापेक्ष बनाउँदै आरोहीमैत्री बनाउनुपर्नेमा जोड दिइएको हो ।

 

महोत्सव उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेविड शेर्पाले पर्यटन क्षेत्रलाई समयसापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न वर्तमान पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो । 

 

उहाँले विसं २०३५ मा बनेको पर्यटन ऐन अहिलेसम्म पनि पूर्ण रूपमा परिवर्तन नहुनु समस्याका रूपमा रहेको उल्लेख गर्नुभयो । “हामी अझै पनि २०३५ सालको कानुनमा हिँडिरहेका छौँ, अब यसलाई परिवर्तन गर्ने सुनौलो अवसर आएको छ, यसमा तपाईँहरूको साथ र सहयोगको खाँचो छ”, उहाँले भन्नुभयो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्यटन प्रवर्द्धन र यससँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै प्रतिनिधिसभा सदस्य शेर्पाले आफूलाई आरोहीको आवाज बुलन्द गर्न जनताले संसद्मा जिम्मेवारीसहित पठाएकाले उक्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । सगरमाथा आरोहणको ७३ वर्ष पुगिसक्दा पनि धेरै आरोहीले उचित सम्मान र सुरक्षा नपाएका उहाँको भनाइ छ ।

 

“हामीले थुप्रै आरोहीहरू गुमाएका छौँ, कति महिला एकल भएका छन्, बालबालिका टुहुरा भएका छन् । आरोहीको अधिकारका लागि सरकारले के ग¥यो भन्ने प्रश्न अझै जीवितै छ”, शेर्पाले भन्नुभयो । उहाँले नेपाली युवा विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै युवाले मुलुकको पर्यटन क्षेत्रमा भविष्य देख्ने वातावरण बनाएर अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

 

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विकास भएमात्र देशको विकास हुने बताउनुभयो । उहाँले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचारप्रसार, प्रवर्द्धन र संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले नेपाल पर्वतारोहण सङ्घले प्रत्येक दुई वर्षमा आरोहीलाई सम्मान गर्दै आइरहेको जानकारी दिनुभयो ।

 

सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइड (पथप्रदर्शक)को सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीतिनिर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो जीवन जोखिममा राखेर नेपालको पर्यटन तथा पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउने आरोही र माउन्टेन गाइडको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

 

सङ्घका प्रथम उपाध्यक्ष दिवस पोखरेलले आरोही तथा गाइडले हिमाल आरोहणका क्रममा अत्यधिक चिसो, हिमपहिरो र अन्य जोखिमसँग सामना गर्नुपरेको र कतिपयले ज्यान गुमाउनुपरेको बताउनुभयो । आरोही तथा गाइडको सुरक्षा र अधिकार सुनिश्चित गर्न सङ्घ तथा प्रदेश तहमा स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको उहाँको भनाइ छ ।

 

“संसारले हाम्रा अग्ला र सेता हिमाल देख्छ, तिनको सौन्दर्यको प्रशंसा गर्छ तर ती हिमालको चुचुरामा देशको झण्डा फहराउने आरोही तथा गाइडको वास्तविक दुःख, पीडा र सङ्घर्ष भने प्रायः ओझेलमा पर्ने गर्छन्”, उहाँले भन्नुभयो ।

 

सङ्घका महासचिव शिवबहादुर सापकोटाले दुर्घटनामा परेका आरोहीको निःशुल्क तथा गुणस्तरीय उपचार र ज्यान गुमाएका आरोहीका बालबालिकाका लागि उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । “जबसम्म हाम्रा गाइड र आरोही सामाजिक र आर्थिक रूपमा सुरक्षित हुँदैनन्, तबसम्म नेपालको पर्यटन क्षेत्रको दिगो विकास सम्भव छैन”, उहाँले भन्नुभयो ।

 

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आरोही र पर्वतीय पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । त्यस्तै, सङ्घद्वारा २५औँ स्थापना दिवसका अवसरमा प्रकाशन गरिएको ‘रजत स्मारिका’ विमोचन गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan